काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले सहकारी क्षेत्रलाई दिगो र विश्वासिलो बनाउन वर्तमान चुनौतीहरू सामना गर्नुपर्ने बताएकी छन्।
महिलाले नेतृत्व गरेको अक्षयकोष बचत तथा ऋण सहकारी संस्थाको १५औं साधारणसभालाई काठमाडौंमा उद्घाटन गर्दै उनले सहकारी क्षेत्र केवल वित्तीय संस्था मात्र नभई आत्मनिर्भरता, सहकार्य र साझा समृद्धिको आधारस्तम्भ भएको उल्लेख गरिन्।
उनका अनुसार पछिल्ला केही वर्षयता सहकारी क्षेत्रमा समस्या गहिरिँदै गएको छ। उनले भनिन्, “सहकारी आन्दोलनले नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणमा ठूलो योगदान दिएको छ, तर चुनौतीहरूलाई समाधान नगरी सहकारीलाई दिगो र विश्वासिलो बनाउन सकिँदैन।”
उपाध्यक्ष घिमिरेले पछिल्लो समय सदस्यहरूको बचतलाई उत्पादनमुखी क्षेत्रमा भन्दा उच्च जोखिमयुक्त क्षेत्रमा लगानी गर्ने प्रवृत्ति बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरिन्। यस्तो प्रवृत्तिले सहकारीलाई बदनाम बनाउन सक्छ भन्दै उनले सहकारी विभाग, स्थानीय तह र नियामक निकायबीच आवश्यक समन्वय र सूचनाको आदानप्रदान गर्न आग्रह गरिन्।










