हेटौंडा । वंशगोपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, हेटौंडा–१८ हर्नामाडीले शुक्रबार तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ। आउँदै गरेको हरितालिका तीज पर्वलाई लक्षित गर्दै सहकारीले शुभकामना आदान–प्रदान तथा सांस्कृतिक महत्वबारे सचेतना कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति मकवानपुरकी सदस्य विष्णुमाया थपलियाले तीजलाई सभ्य तरिकाले मनाउन आग्रह गर्दै धर्मअनुसारका संस्कार र संस्कृतिको संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताइन्। स्वास्थ्यकर्मीको हैसियतले उनले दर खाने क्रममा स्वच्छता र सावधानी अपनाउन महिलाहरुलाई सन्देश दिइन्।

ज्योति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रामबाबु खतिवडाले तीजले महिला दिदीबहिनीबीच एकताको सन्देश फैलाउने उल्लेख गरे। हर्नामाडी कला प्रतिष्ठानका अध्यक्ष हर्क रम्तेलले तीजको धार्मिक, सांस्कृतिक, सामाजिक र आर्थिक महत्वबारे चर्चा गर्दै यसको सकारात्मक रुपले मनाउन आवश्यक रहेको बताए।
सहकारीका ऋण उपसमिति सदस्य दुर्गा कुमारी खतिवडाले स्वागत मन्तव्य राखेकी थिइन्। कार्यक्रममा साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष रेखा खतिवडा, ठूलोदमार टोल विकास संस्थाका अध्यक्ष कुमार महत, सहकारीका कोषाध्यक्ष इमान बहादुर थापा, महिला उपसमिति संयोजक रिता दुरैली लगायतले मन्तव्य राखेका थिए।

सल्लाघारी टोल विकास संस्थाका अध्यक्ष कृष्ण बहादुर सिलवाल, रामधुनी टोल विकास संस्थाका अध्यक्ष रमेश सिलवाल, ठूलोदमार प्रहरी चौकीका प्रतिनिधि, सहकारीका कार्यसमिति सदस्य, लेखा समिति संयोजक कपिल प्रसाद पराजुली तथा महिला शेयर सदस्यहरुको सक्रिय सहभागिता रहेको सहकारीले जनाएको छ।












